दफा
रोक्ने वा भत्काउने

९.१ दफा ८ अन्तर्गत प्राधिकरणले नियमित, नियन्त्रण वा निषेध गरेका काम कुराहरू कसैले प्राधिकरणको पूर्व स्वीकृति विना गरेमा वा प्राधिकरणले स्वीकृति दिंदा कुनै शर्त तोकिदिएको भए त्यस्तो शर्त विपरीत हुने गरी गरेमा प्राधिकरणले त्यस्तो काम तत्काल रोक्ने आदेश दिन सक्नेछ र त्यस्तो कामको सिलसिलामा कुनै निर्माण गरेको रहेछ भने प्राधिकरणले पैंतीस दिनको म्याद दिई सम्बन्धित व्यक्तिलाई त्यसरी स्वीकृति बिना वा शर्त विपरीत निर्माण गरेको जति भाग भत्काउन वा हटाउन आदेश दिन सक्नेछ ।
९.२ उपदफा ९.१ बमोजिम प्राधिकरणले कुनै निर्माणको भाग भत्काउन वा हटाउन दिएको आदेश उपर चित्त नबुझ्ने व्यक्तिले सो आदेश पाएको मितिले पैंतीस दिनभित्र पुनरावेदन समिति समक्ष उजुरी दिन सक्नेछ । सो उजुरीको सम्बन्धमा पुनरावेदन समितिले उजुरी परेको मितिले तीस दिनभित्र निर्णय गर्नु पर्नेछ र त्यस्तो निर्णय अन्तिम हुनेछ ।
९.३ उपदफा ९.२ बमोजिम उजुरी परेकोमा पुनरावेदन समितिबाट त्यस्तो निर्माणको भाग भत्काउने वा हटाउने गरी निर्णय भएमा सो निर्णय भएको मितिले पैंतीस दिनभित्र र उजुरी नपरेकोमा उपदफा ९.१ बमोजिम प्राधिकरणले आदेश दिएको मितिले पैंतीस दिन भित्र सम्बन्धित व्यक्तिले त्यस्तो निर्माणको भाग भत्काउन वा हटाउनु पर्नेछ ।
९.४ उपदफा ९.३ को म्यादभित्र सम्बन्धित व्यक्तिले त्यस्तो निर्माणको भाग नभत्काएमा वा नहटाएमा प्राधिकरण आफैले भत्काउन वा हटाउन सक्नेछ र त्यसरी भत्काउँदा वा हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाट असूल उपर गरिनेछ ।